ओखलढुंगाका राई कोटेश्वरबाट पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले २२ वर्षीय सुरज राईलाई पक्राउ गरेको छ ।

राईले पोर्चुगल पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोग गरेको प्रहरीले जनाएको छ ।

खोटाङको दिक्तेल नगरपालिका–१० पाथेका घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि ९ लाख रुपियाँ लाग्छ भनेर राईले ठगी गरेका थिए ।

पोर्चुगल पुगेपछि होटलमा मासिक १ लाख रूपियाँभन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै राईले प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटक–पटक गरी ३ लाख ४२ हजार रूपियाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई आदेश दिएको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

उता, प्रहरीले थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपियाँभन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटक पटक गरी ३ लाख ५० हजार रूपियाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि पक्राउ गरिएको थियो ।

प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ म्याग्दी चोकबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रहरीले विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३१ वर्षीय अनिल मालाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

आइएमई कार्यालयमा गई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक–पटक गरी जम्मा ३ लाख रूपियाँ रकम पठाउन लगाई आइएमई कार्यालयका संचालकलाई आइएमई गरेको रकम नदिई बाहिर गई फोनमा कुरा गरे जस्तो गरी भागी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Published : Friday, 2023 May 5, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया