लाजिम्पाटको माझी बिष्ट्रो रेष्टुरेन्टका मालिक दरबारमार्गबाट पक्राउ

काठमाडौं । प्रहरीले २७ वर्षीय सञ्जय रेग्मीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको छ ।

रेग्मीले अष्ट्रेलिया पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोग लागेको छ । उनी चितवनको भरतपुर महानगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिम्पाटमा बस्दै आएका थिए । प्रहरीले रेग्मीलाई आइतबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं महानगरपालिका–१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपियाँभन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भनेका थिए ।

प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३० लाख रूपियाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

यता, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँको भीमाद नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २६ वर्षीय मनबहादुर कुमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कठमाडौं महानगरपालिका–२६ स्थित यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजर कुमालले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबइ पठाउने भनेर ठगी गरेका थिए ।

कुमालले प्रतिष्ठित कम्पनीमा ६० हजार रूपियाँभन्दा बढी तलब हुने काम लगाइदिन्छुभन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३ लाख ५० हजार रुपियाँ लिई ठगी गरेका थिए ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो । प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Published : Sunday, 2023 April 30, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया