रौतहटमा दुई जना अपहरणकारी पक्राउ

काठमाडौं । प्रहरीले मानिस अपहरण गर्ने कार्यमा संलग्न दुई जनालाई रौतहटमा पक्राउ गरेको छ ।

रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका–६ माधोपुर बस्ने २३ वर्षीय मन्त्रीबाबु राय ‘दीपेश’ र राजदेवी नगरपालिका–६ मोहनपुर बस्ने २१ वर्षीय राजाबाबु पटेल ‘राजा’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रीबाबु रायले परोहा नगरपालिका–३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिबार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरास्थितमा रहेको रक्सी भट्टी पसलमा लगेका थिए ।

उक्त पसलमा ८÷९ जनाको अज्ञात व्यक्तिहरूले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्नुका साथै फिरौती वापत चार लाख रुपियाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले पीडित र अपहरणकारीहरूको खोजी गर्ने क्रममा आइतबार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2023 April 25, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया