अर्काकी पत्नीसँग कोठामा सँगै सुतेर…, कुरा बिग्रिएपछि बिश्रामपुरमा अञ्जाम

काठमाडौं । प्रहरीले बारामा युवकको हत्या गरी फरार रहेका पत्नी र पतिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख (एसपी) होबिन्द्र बोगटीका अनुसार २४ वर्षीय कैलाश महतो ‘रामु’ र २० वर्षीया हीरादेवी ‘रोशनी’लाई पक्राउ गरिएको छ ।

पक्राउ परेका उनीहरूको ठेगाना पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १५ भीष्वामा पर्छ ।

२०७९ सालको मंसिर २७ गते राति करीव ९ बजे बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ५ इटयाही टोलस्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा २२ वर्षीय महेश साह ‘सुरज’को हत्या गरेर उनीहरू फरार भएका थिए ।

बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ राजानगर टोलमा बस्ने साहलाई कर्तव्य गरी हत्यापछि मृतकको शव लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एसपी बोगटीले भने, ‘प्रतिवादी हिरा देवी ‘रोशनी’ र मृतक महेश साह ‘सुरज’ दुबै जना हिरा देवीको कोठामा लिभिङ टुगेदरमा बस्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।’

महेश साह ‘सुरज’ र हिरा देवी ‘रोशनी’बीच विवाह गर्ने कुरा भएको थियो । तर, रोशनीको पहिला नै विवाह भई छोरी समेत भएको हुँदा सुरजको घरपरिवारका मानिसहरूले विवाह गर्न मानेका थिएनन् ।

मिति २०७९ मंसिर २७ गते राति रोशनी र सुरजलाई रोशनीका श्रीमान् रामुले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतक सुरजसँग विवाद भएको थियो । रोशनीका श्रीमान र श्रीमतीले सुरजलाई डिस (केवल)को तारले घाँटीमा कसेर कर्तव्य हत्या गरेको प्रहरीले जनाएको छ ।

सुरजको शव दबाउने र छुपाउने उद्देश्यले परालको भुसमा लुकाई छिपाई राखेर रोशनी र रामु भागेका थिए ।

भागने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा उनीहरूलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिरहेको बेला मिति २०८० वैशाख ६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरू रामु र रोशनीलाई पक्राउ गरिएको एसपी बोगटीले बताएका छन् ।

प्रतिवादीहरू रामु र रोशनीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सातको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले हत्याको घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2023 April 22, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया