प्रहरीले महरालाई रोल्पाबाट पक्राउ गरेर काठमाडौं ल्यायो

काठमाडौं । प्रहरीले रोल्पा जिल्लाका २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको छ ।

सामाजिक संजालको दुरूपयोग गरी युवतीलाई दु:ख हैरानी दिई चरित्रहत्या गरेको अभियोगमा महरालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका महरालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महराले पीडित युवतीको हराएको मोबाइलबाट विभिन्न सामाजिक संजालमा भएका तस्विरहरूमा अश्लील शब्दहरू राखी अपलोड गरेका थिए ।

युवतीको प्रोफाइलबाट आफन्तलाई समेत अपरिचित महिला–पुरुषको यौनजन्य भिडियो पठाई चरित्रहत्या गरेको महरालाई आरोप लागेको छ ।

पीडित युवतीको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा महराको संलग्नता रहेको खुल्न आएपछि रोल्पाबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

महराउपर विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2023 April 20, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया