खड्का र भण्डारी पक्राउ परेपछि बुद्धनगर पठाइयो

काठमाडौं । प्रहरीले २३ वर्षीय टीकाबहादुर भण्डारीलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

भण्डारीले सर्वसाधारणलाई पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गर्दै आएका थिए । ठगीको अभियोगमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनेर भण्डारीले १० जना पीडितहरूबाट १५ लाख रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागको आदेशपछि प्रहरीले भण्डारीलाई ताहाचलबाट पक्राउ गरेको थियो ।

भण्डारीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

उता, अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई पनि प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिने तथा मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटक पटक गरी ३ करोड ५६ लाख ८ हजार रूपियाँ ठगी गरेको अभियोगमा खड्कालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ चपुरबाट खड्का पक्राउ परेका हुन् ।

Published : Wednesday, 2023 April 19, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया