प्रहरीद्वारा नौं जनालाई पक्राउ

काठमाडौं । प्रहरीले झापा, धादिङ, मकवानपुरसहित विभिन्न स्थानबाट नौं जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिका–१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित मंलगबार राति ४ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीया मुना राई, २४ वर्षीय सञ्जय राई, सोही नगरपालिका–९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् ।

चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई चेकजाँच गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले लागुऔषध निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यता, धादिङको गजुरी नगरपालिका–६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही ओमसतिया गाउँपालिका–४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका–१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिडीरहेका उनीहरूलाई शंका लागेर जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका–२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उप–महानगरपालिका–३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित सोही उप–महानगरपालिका–११ थानाभ¥याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

लागुऔषध बरामद भएको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2023 March 22, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया