मीनभवन प्रहरीद्वारा काठमाडौंमा छिरिङ र सुरेन्द्रलाई पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ काठमाडौंबाट पक्राउ गरेको छ ।
नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भीमेश्वर नगरपालिका– ७ घर भई हाल काठमाडौंको सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको कालोपुल एरियामा विभिन्न व्यक्तिहरूले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
एक हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित प्रहरीले उनीहरूलाई कालोपुलबाट पक्राउ गरेको थियो ।
उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया