युएईलाई हराएको नेपालले अब को–कोसँग खेल्नेछ ?

काठमाडौं । नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भएको छ ।
नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (युएई)माथि डकवर्थ लुइस पद्धतिमा ९ रनको रोमाञ्चक विजय हासिल गरेको थियो ।
योसँगै नेपालले जिम्बाब्वेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट नेपालसँगै च्याम्पियन स्कटल्यान्ड र दोस्रो स्थानमा रहेको ओमानले पनि जिम्बाब्वेको टिकट पक्का गरेका छन् ।
१८ जुनदेखि ९ जुलाइसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा खेल्ने दश टिममध्ये अहिलेसम्म पाँच टिमको टुंगो लागिसकेको छ ।
पाँच टिममा नेपाल, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र जिम्बाब्वे हुन् ।
बाँकी पाँचमध्ये आईसीसी क्रिकेट विश्वकप सुपर लिगबाट अर्को तीन टिम र आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफबाट शीर्ष दुई टिम आउनेछन् ।
क्वालिफायर प्लेअफमा नामिबिया, पपुवा न्युगिनी (पीएनजी), अमेरिका, यूएई, क्यानडा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् । यसमध्येबाट दुई टिम विश्वकप छनोटमा आउनेछन् ।
सुपर लिगबाट दक्षिण अफ्रिका, वेष्ट इन्डिज, श्रीलंका र आयरल्यान्डमध्ये तीन टिमले विश्वकप छनोट खेल्नेछ ।
नेपालले अब स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र जिम्बाब्वेसँगै नामिबिया, पपुवा न्युगिनी (पीएनजी), अमेरिका, यूएई, क्यानडा र जर्सीमध्ये दुई टिम र दक्षिण अफ्रिका, वेष्ट इन्डिज, श्रीलंका र आयरल्यान्डमध्येबाट आउने तीन टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
आगामी अक्टोबर नोभेम्बर हुने आईसीसी एकदिवसीय विश्वकपमा आयोजक भारत, अष्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, बंगलादेश, पाकिस्तान र आफगानिस्तानले स्थान पक्का गरिसकेका छन् ।
बाँकी तीन स्थानका लागि वेष्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, दक्षिण अफ्रिका, नेपाल, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स, जिम्बाब्वे, यूएई, अमेरिका, पीएनजी, नामिबिया, क्यानडा र जर्सी गरी १५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया