चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका छन् ।

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय बी तथा २६औँ खुल्ला राष्ट्रिय प्रतियोगिताको प्रतिस्पर्धाबाट ५ जना पुरुष खेलाडीहरू ओलम्पियाडको लागि छनौट गरेका थिए ।

छनौट भएका खेलाडीहरू एफएम रुपेश जैसवाल, आशिष् फुयाँल, सिएम सुश्रुत दहाल, राजन सुवेदी र सिएम पुरुषोत्तम सिलवाललाई लामो समय बन्द प्रशिक्षणमा बसेर उज्बेकिस्तान प्रस्थान गराएका थिए ।

नेपाली खुल्ला टिमका लागि क्याप्टेनको जिम्मा काजकिस्तानका आईएम विदेशी प्रशिक्षक किरिल कुदेरिनोभलाई प्रदान गरिएको थियो ।

विदेशी प्रशिक्षक एवं टिम क्याप्टेन किरिल कुरिदेरिनोभले पहिलो चरणको खेलका लागि क्रमशः वोर्ड नं. १ मा सिएम पुरुषोत्तम सिलवाल, २ नं.मा एफएम रुपेश जैसवाल, ३ नं.मा सिएम सुश्रुत दहाल र ४ नं.मा आशिष् फुयाँललाई सहभागी गराउने निर्णय गरेको छन् ।

खेलमा २०९३ रेटेड सिएम पुरुषोत्तम डेनमार्कका २५७९ रेटेड जिएम सोन्दरगार्ड थाईबोसँग, २१५१ रेटेड रुपेश अर्का जिएम २५४९ रेटेड माड्स एण्डरसनसँग, २०३८ रेटेड सिएम सुश्रुत २४७८ रेटेड जिएम ब्योर्न मोलार ओक्सनरसँग हार ब्यहोरे भने २००८ रेटेड आशिष २४५३ रेटेड आईएम फिलिप बो ओल्सेनसँग प्रतिस्पर्धा बराबरी गरेका छन् ।

महासंघले महिला टोलीको लागि अभिभावक, प्रशिक्षक एवं क्याप्टेनमा राष्ट्रिय खेलाडी एफएम रिजेन्द्र राजभण्डारीलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

नेपाली महिला टोली पनि राष्ट्रिय बी तथा १०औँ राष्ट्रिय प्रतियोगिताको छनौट प्रक्रियामा सहभागी हुँदै क्रमशः कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ, एञ्जल महर्जन र सिन्दिरा जोशीले ओलम्पियाड यात्रा निश्चित गरेका थिए ।

महिला टिममा क्याप्ट रिजेन्द्र राजभण्डारीले क्रमशः वोर्ड नं. १ मा एञ्जल महर्जन, २ नं.मा पूजा भण्डारी, ३ नं.मा निहाना श्रेष्ठ र ४ नं.मा सिन्दिरा जोशीलाई अवसर दिएका छन् ।

पहिलो चरणको खेलमा १६४४ रेटेड एञ्जलले चेक रिपब्लिकका २१९४ रेटेड डब्लूआईएम नतासा रिचटेरोभासँग, १६८२ रेटेड पूजाले २१४९ रेटेड डब्लूएफएम अन्ना ल्होत्स्कासँग, १५७५ रेटेड निहानाले २०८८ रेटेड डब्लूएफएम लुसि रिबाकोभासँग र १५६५ रेटेड सिन्दिराले २१२५ रेटेड डब्लूजिएम तेरेजा रोडस्टाइनसँग ४–० अंकको हार सामना गरेका छन् ।

नेपालका अन्तर्राष्ट्रिय आर्विटर आईए निरञ्जन प्रजापतिले ओलम्पियाडको शीर्ष महिला प्रतिस्पर्धामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोलीका राजन सुवेदी र कृतिसरा अधिकारीलाई आजको खेलमा विश्राम दिइएको छ ।

यसैबीच नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामाले विश्व बुद्धिचाल महासंघ (फिडे) मा आवद्ध विभिन्न देशहरुसँग महत्वपूर्ण भेट गरेका छन् ।

आयोजक उज्बेकिस्तानले प्रतियोगिताको पूर्वसन्ध्यामा भब्य उद्घाटन समारोह सम्पन्न गरेको थियो । उक्त समारोहमा नेपाली बुद्धिचाल टोलीले प्रत्यक्ष सहभागी जनाएका थिए ।

Published : Thursday, 2026 September 17, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया