एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक सुविधाका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै चिन्ता जनाएका छन् ।

बागमती प्रदेश सरकारले आयोजना गरेको तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ का लागि १३ करोड २० लाख मात्रै विनियोजन गरेको थियो । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाबाट २ हजार ९५५ खेलाडी र १ हजार २०६ अफिसियल गरी ४ हजार १६१ जना सहभागी भएका थिए ।

यस हिसाबले हेर्दा एसियन गेम्समा नेपालको सहभागिताका लागि संघीय सरकारले छुट्याएको ११ करोड २० लाखभन्दा बागमती प्रदेशको एउटा प्रदेशस्तरीय प्रतियोगिताको बजेट २ करोड बढी देखिन्छ ।

पूर्व खेलकुदमन्त्री महर्जनले यही तथ्यलाई आधार बनाउँदै संघीय सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीको तयारीमा अझ गम्भीर र उदार हुनुपर्ने बताए । उनले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराएर पदकको अपेक्षा गर्ने तर, वैदेशिक प्रशिक्षण, डाइट र आवश्यक खेलकुद सामग्रीमा पर्याप्त बजेट नदिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् ।

‘खेलाडीलाई राम्रो प्रदर्शन गर, देशका लागि पदक जित भनेर मात्र हुँदैन,’ महर्जनले भने, ‘त्यसका लागि आवश्यक प्रशिक्षण, पौष्टिक आहार, खेलकुद सामग्री र अन्तर्राष्ट्रियस्तरको तयारीको वातावरण पनि सरकारले दिनुपर्छ ।’

२०औँ एसियन गेम्समा नेपालले २३ खेलमा करीब १४० खेलाडी सहभागी गराउने तयारी गरिरहेको छ । त्यसका लागि सरकारले प्रतियोगितामा सहभागिताका लागि ११ करोड २० लाख र तयारीका लागि थप २ करोड ८० लाख गरी कुल १४ करोड विनियोजन गरेको छ ।

एसियाडको तयारीमा रहेका खेलाडीलाई सरकारले दैनिक १५ अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था गरेको भए पनि उक्त रकम खाना, बसोबासलगायतमा खर्चका लागि पर्याप्त नभएको खेलाडीहरूले गुनासो गर्दै आएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का अधिकारीहरूले समेत बैदेशिक प्रशिक्षणमा रहेका खेलाडीका लागि यो रकम अपुग हुने स्वीकार गरेका छन् ।

पूर्वमन्त्री महर्जनले प्रदेशस्तरमै ठूलो संख्यामा खेलाडीलाई सहभागी गराएर प्रतियोगिता सञ्चालन गर्नु खेलाडी उत्पादन, प्रतिभा पहिचान र प्रतिस्पर्धात्मक वातावरण निर्माणको आधार भएको बताए ।

तेस्रो बागमती प्रदेश खेलकुदमा १५ खेल विधामा ४ हजारभन्दा बढी खेलाडी तथा अफिसियल सहभागी भएका थिए । प्रतियोगितालाई नयाँ प्रतिभा पहिचान तथा आगामी राष्ट्रिय खेलकुदको तयारीका लागि महत्वपूर्ण मानिएको थियो ।

पूर्व युवा तथा खेलकुदमन्त्री महर्जनले संघीय सरकारले पनि बागमती प्रदेशको लगानीबाट पाठ सिकेर खेलाडीको आधारभूत आवश्यकता र दीर्घकालीन तयारीमा लगानी बढाउनुपर्ने बताएका छन् ।

‘खेलाडीलाई आवश्यक डाइट नदिई, अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर नदिई र गुणस्तरीय खेल सामग्री उपलब्ध नगराई पदकको आशा गर्नु न्यायोचित हुँदैन,’ महर्जनले भने ।

उनले खेलकुदलाई खर्चको रूपमा मात्र नभई देशको प्रतिष्ठा, युवाको भविष्य र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्ने बताएका छन् ।

बागमतीको १३ करोड २० लाखको प्रदेश खेलकुद बजेट र एसियाड सहभागिताका लागि संघीय सरकारले छुट्याएको ११ करोड २० लाखको तुलना अहिले खेलकुद क्षेत्रमा लगानीको प्राथमिकतामाथि बहस गर्ने बलियो आधार बनेको छ ।

Published : Tuesday, 2026 September 15, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया