छ खर्ब गायब भएपछि कांग्रेस सांसद बजगाइँद्वारा नोटबन्दी गर्न प्रधानमन्त्रीसँग प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र बजगाइँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नोटबन्दी गर्न प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता बजगाइँले ट्वीटरमा प्रधानमन्त्री दाहाललाई मेनशन गरेर नोटबन्दीको प्रस्ताव गरेका हुन् । उनले बजारमा ६ खर्ब नोट रहँदा पनि सिस्टममा ७० प्रतिशत पनि नदिएको भन्दै चिन्ता जनाएका छन् ।

सांसद बजगाइँले भनेका छन्, ‘६ खर्ब नोट सर्कुलेटेड छ । तर, ७० प्रतिशत सिस्टममा देखिदैन ।’

उनले ६ खर्ब नोट कहाँ गयो भनेर आश्चर्य व्यक्त गरेका छन् । मुलुकको अर्थतन्त्र निकै संकटमा परेका बेला कांग्रेसका सांसद बजगाइँले नोटबन्दीको प्रस्ताव गरेर सबैको आँखा खोलिदिएका छन् ।

सांसद बजगाइँले केही झिल्के अर्थविदको आलोचना गर्दै नोटबन्दीको कुरा गरेका हुन् ।

उनले भनेका छन्, ‘झिल्के अर्थविद हल्ला गर्छन्, मै हुँ अन्यथा देश टाट पल्टन्छ भन्छन् । यो सशस्त्र आर्थिक विद्रोह हो । यस्ता विद्रोहले हिंसा भड्किन सक्छ । राज्यले यिनीहरूलाई नियन्त्रणमा लिनुपर्दछ ।’

सीमित व्यापारीहरू र केही भ्रष्ट कर्मचारीले मुलुकको अर्थतन्त्रलाई नियन्त्र गरेका छन् । उनीहरूले नेपाली नोटलाई कोठाभित्र लुकाएर राखेका कारण अर्थतन्त्र संकटमा परेको आरोप छ ।

बैंकहरूले व्याजको दर ह्वात्तै बढाएर समस्या बनाएको आरोप व्यापारीहरूको छ ।

Published : Tuesday, 2023 March 14, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया