बालाजुमा २४ वर्षीय युवकमाथि छुरा प्रहार, ३ जना पक्राउ

काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न भई फरार ३ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

फागुन २७ गते बिहान १०ः१० बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु गंगाहल नजिक सडक छेउमा २४ वर्षीय सुमन पण्डितलाई हतियार प्रहार गरि कुटपिट गरेर फरार भएका तीन जनाको समूहलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तत्काल प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोली परिचालन गरि घटनास्थलमा पुगी घाइते व्यक्तिलाई उपचारको लागि बालाजुस्थित सिल्भर लाईन अस्पताल लगेर उपचार गराइएको थियो ।

घाइते हुनेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु गुम्बा बस्ने वर्ष २४ का सुमन पण्डित रहेका छन् । उनको स्वास्थ्य अवस्था हल्का बोल्न सक्ने भएको छ । उनलाई मुख र ढाडमा चोट लागेको छ ।

घटनामा संलग्न फरार व्यक्तिहरूको विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी खोजतलास गर्ने क्रममा फागुन २७ गते साँझ १९ः४५ बजेको समयमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ९ फुटुङबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ईलामको चुलाचुली गाउँपालिका वडा नं. ३ घर भई हाल तारकेश्वर नगरपालिका ८ नेपालटार बस्ने वर्ष २० को जेन राई रहेका छन् । जेन राई घाइते सुमन पण्डितको चिनजानको साथी हुन् ।

इलामको चुलाचुली ३ घर भई नेपालटार बस्ने वर्ष १८ को निसान राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका वडा नं. १० घर भई हाल तारकेश्वर– ८ नेपालटार बस्ने वर्ष २८ को दिनेश तामाङ रहेका छन् ।

पक्राउ परेका युवाहरूसँग घटनामा प्रयोग भएको चुप्पी थान – १, छिनो थान – १ बरामद भएको छ । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धानका लागि अनुमति लिइएको छ ।

Published : Monday, 2023 March 13, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया