पल शाहले भने ‘त्यो घटनासँग जोडिएका कसैलाई पनि गाली नगरिदिनुस्’

काठमाडौं । अभिनेता पूर्णबिक्रम शाह ‘पल’ले कसैप्रति नकारात्मक भाव नरहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत शाहले वितेको एक वर्ष धेरै सिकेको बताएका छन् । उनले कसैप्रति रिस र आवेग नरहेको बताएका छन् ।

‘नमस्कार सबै जनालाई । सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो’, शाहले भनेका छन् ।

‘बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु’, उनले भनेका छन्, ‘मनमा नकसैप्रति रिस बाँकी छ, न त कुनै प्रतिशोधको भावना ।’

उनले भनेका छन्, ‘छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य ।’

‘साथै मेरो बितेको एक वर्षको त्यो घटनासंग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा मेरो सदा सम्मान र सद्भाव ।’

‘र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो’, शाहले भनेका छन्, ‘त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरी दिनुहोला । उहाँहरूसंग फेरि सहकार्य गर्ने वातावरण मिलोस ।’

‘त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै मफेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु’, अभिनेता शाहले भनेका छन्, ‘मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन ।’

‘बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ’, उनले भनेका छन्, ‘त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरूलाई मनदेखि आभार प्रकट गर्दछु ।’

‘रङ्गिन र सुखमय होस जीवन ! होलीको शुभकामना सम्पूर्णमा’, अभिनेता शाहले भनेका छन् ।

Published : Monday, 2023 March 6, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया