चार लाख ३५ हजार नेपाली नक्कली रुपियाँ बरामद, दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स व्यूरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपियाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन् ।

नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरूमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र लहान नगरपालिकाको वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मदराज शेख रहेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैंतीस थान एक हजार दरका नक्कली नोट पनि सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।

नक्कली नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपियाँ समेत बरामद भएको छ ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 February 5, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया