राखेपद्वारा विघटन भएको तेक्वान्दो संघ ब्यूँतियो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ ।

बुधबार पाटन उच्च अदालका न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको छ ।

पुस ५ मा राखेपले प्रकाशशम्शेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघसहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो ।

समानान्तर संघ भएपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा ईन्द्रमान तुलाधर महासचिव रहने गरी तेक्वान्दो महासंघ गठन गरेको थियो ।

असन्तुष्टि जनाउँदै नेपाल तेक्वान्दो संघ अदालत पुगेको थियो ।

पुस २० गते बुधबार दुवै पक्षलाई छलफलमा बोलाएर अदालतले पुस ५ गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभएसम्मका लागि कार्यन्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश दिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उच्च अदालत पाटनको आदेश स्वागतयोग्य रहेको भन्दै नेपाल तेक्वान्दो संघका पदाधिकारले निर्णयको स्वागत गरेका छन् ।

संघले नेपाली खेलाडी र खेलकुदमा लागेको पादधिकारीको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।

Published : Thursday, 2023 January 5, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया