यी हुन् आफ्नै बुबालाई गोली हानेर हत्या गर्ने धुन्धुकारीहरू

जनकपुरधाम । प्रहरीले धनुषामा गोली हानेर हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ बस्ने ५० वर्षीय धनुषधारी दासको गोली प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा गोली हानेर हत्या गरिएका धनुषधारी दासका जेठो छोरा २१ वर्षीय प्रदीप दास, उनकै ज्वाइँ महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र धनुषाको नगराईन नगरपालिका–२ जटही बस्ने २१ वर्षीय रंजीतकुमार यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आफ्नै घरमा बिग्रीएको पानी पम्प सेटमर्मत गरिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले पुस ९ गते बिहान गोली प्रहार गर्दा गम्भीर घाइते भएका धनुषधारी दासको उपचारको क्रममा मृत्यु भएको थियो ।

गम्भीर घाइते धनुषधारी दासलाई प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान गर्न तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार धनुषधारी दासका जेठो छोरा प्रदीप दास, घटनाका सहयोगी धनुषधारी दासका ज्वाइँ उदय र गोली प्रहार गर्ने रंजितकुमारलाई हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल १ थानसहित पक्राउ गरेको छ ।

सोही पेस्तोलमा लाग्ने गोलीको खोका १ थान, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन १ थान र अटोमेटिक पेस्तोलको गोली १ राउण्डसहित उनीहरूलाई पक्राउ गरिएको छ ।

उनीहरू उपर जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2023 January 4, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया