नायिका ईशाको हत्या अभियोगमा निर्देशक प्रकाश पक्राउ

नयाँदिल्ली । भारतीय अभिनेत्री रियाकुमारी उर्फ ईशा आलियाको हत्या उनकै पतिले गरेको आशंका गरिएको छ ।

झारखण्डकी अभिनेत्री ईशाको हत्या उनका पतिले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ईशाका परिवारले उनका पति एवं निर्देशक प्रकाश अलबेलाविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका छन् । त्यसपछि पतिले नै ईशाको हत्या गरेको हुन सक्ने कुरा बाहिर आएको छ ।

झारखण्ड प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ । प्रकाशले प्रहरीलाई अपराधीहरूले लुटपाट गरी श्रीमतीको हत्या समेत गरेको बयान दिएका थिए ।

प्रहरीले प्रकाशलाई अहिले घटनामा संग्लन भएको भन्दै अदालतमा पेश गरेको छ ।

ईशा र प्रकाश गत सोमबार कारमा छोरीसहित कोलकाता प्रस्थान गरेका थिए ।

बीचमा लुटपाट गर्ने नियतले केही अपराधी व्यक्तिहरूले गाडी रोकेको प्रकाशले जनाएका थिए ।

सोही क्रममा प्रकाशसँग विवाद भयो । यो देखेर ईशा पनि अपराधीसँग भिडिन् र श्रीमानलाई बचाउन थालिन् । त्यही क्रममा अपराधीले गोली चलाएको थियो ।

गोली ईशाको कानमा लागेर मृत्यु भएको थियो । त्यसपछि प्रकाश शव लिएर कोलकाता प्रहरी चौकी पुगे । ईशालाई पोइन्ट जिरो रेन्जबाट गोली प्रहार गरिएको प्रहरीको बयान छ ।

हावडा ग्रामीण एसपी स्वाती भङ्गलियाले ईशाका परिवारका सदस्यहरूले प्रकाशविरुद्ध मुद्दा दर्ता गरेको बताइन् ।

ईशाका परिवारले उनीहरूमाथि धेरै गम्भीर आरोप लगाएका छन् । ईशालाई पहिले पनि उनको श्रीमानले कुटपिट गर्ने गरेको र यातना दिने गरेको आफन्तले बताएका छन् ।

दुवै झारखण्ड फिल्म उद्योगसँग सम्बन्धित छन् । प्रकाश निर्देशक हुन् । ईशाले धेरै झारखण्डी र नागपुरी एल्बमहरूमा काम गरिसकेकी छिन् ।

दुवैले एकअर्कालाई लामो समयदेखि चिनेका थिए । पछि दुवैले प्रेम विवाह गरेका हुन् ।

दुवैबीच विवाहपछि मनमुटाव भएको बताइएको छ । सुरुमा प्रकाशले ईशालाई अपनाउन विवाहको लागि अस्वीकार गरेका थिए ।

मुद्दा अदालतसम्म पुग्यो । त्यसपछि दुवैले विवाह गरेका थिए । दुबैको एक छोरी पनि छिन् ।

प्रकाश र ईशाको सम्बन्ध राम्रो थिएन । सम्बन्ध तोड्नका लागि हत्याको सम्पूर्ण षडयन्त्र प्रकाशले नै रचेको ईशाको पारिवारको आरोप छ ।

पक्राउ पर्ने डरले प्रकाशले ईशाको हत्याको घटनालाई पूरा योजना बनाएर कोलकाता जाने तयारी गरेको र कथा बनाएर सहजै छुट्ने योजना रहेको आरोप छ ।

प्रकाशको पहिले नै विवाह भइसकेको थियो । उनको पहिलो श्रीमतीबाट दुई सन्तान पनि छन् । एजेन्सी

Published : Friday, 2022 December 30, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया