पर्सामा १४ वर्षीय किशोरको अपहरणपछि हत्या, सेफ्टी टंकीमा भेटियो शव

काठमाडौं । पर्सा प्रहरीले १४ वर्षीय किशोरको अपहरणपछि हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोला ठेगाना भएका १४ वर्षीय निरजकुमार पासवानको अपहरण गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१७ अलौ ठेगाना भएका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबिनी गाउँपालिका–१ घोडादौडपिप्रा ठेगाना भएका ३० वर्षीय दिलिपकुमार पटेल रहेका छन् ।

मंसिर ८ गते दिउँसो वीरगंज महानगरपालिका–२५ सिर्सिया खल्वा टोलबाट अपहरित पासवानको शव वीरगंज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकीभित्र पुस १० गते बेलुका शव फेला परेको थियो ।

सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई वीरगंज महानगरपालिका–१७ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा फिरौती रकम असुली गर्न तथा अपहरित पासवानको हात खुट्टा र मुखमा पटी बाँधी राखेकोमा पासवानले डोरी फुकाई भाग्न खोजेकोले अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले उनीहरूले हत्या गरेको खुल्न आएको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक बनाई कर्तव्य ज्यान (ज्यान सम्बन्धि कसूर)मा म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2022 December 29, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया