सुन काण्डमा डीएसपी केसी प्रहरीकै फन्दामा परे

काठमाडौं । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरीको फन्दामा परेका छन् ।

डीएसपी केसीलाई प्रहरीको अनुसन्धान टोलीले आइतबार साँझ निवासबाट नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गरेको छ ।

खानतलासीका क्रममा केसीको कोठाबाट लाखौं नगद फेला परेको छ । केसीले मंसिरमा बुटवलका व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएका थिए ।

केसीको कोठाबाट ३५ तोला सुन र २५ लाख रुपियाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ । सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपियाँ मागेको आरोप केसीलाई छ ।

डीएसपी केसलाई व्यापारीले २५ लाख रुपियाँ बुझाए पनि सुन फिर्ता लिन पाएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको स्थानीय पत्रकारहरूलाई बताएका छन् ।

उनले डीएसपी केसीलाई नियन्त्रणमा लिएको विषयमा आधिकारिता नरहेको बताएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि अनुसन्धान अगाडि बढाएको बताएका छन् ।

Published : Monday, 2022 December 26, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया