नबिल बैंकले सबैभन्दा धेरै लाभांश दियो, यी ४ बैंकले दिनै सकेनन्

काठमाडौं । नबिल बैंकले सबैभन्दा धेरै लाभांश दिएको छ ।

यो पटक पनि वाणिज्यमा नबिल बैंकले सबैभन्दा धेरै लाभांश दिएको हो । नबिल बैंकले १८.८ प्रतिशत सेयर र ११.५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको छ ।

कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद र ५ कित्ता थप सेयर लाभांशस्वरुप पाउँछन् ।

लाभांश घोषणा गरेकामध्ये ८ बैंकको बुक क्लोज हुन बाँकी छ ।

हिमालयन बैंक, सिभिल बैंक, नेपाल बैंक, प्राइम बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एसबीआई बैंक र एनएमबी बैंकको बुक क्लोज हुन बाँकी छ ।

एनएमबीको सोमबार बुक क्लोज हुँदैछ । बुक क्लोज भइसकेपछि सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् ।

लाभांश पाउनका लागि बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्छ । गएको वर्षको तुलनामा यस पटक अधिकांश बैंकको लाभांश घटेको छ ।

बीओके, एभरेस्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, कुमारी, एनसीसी र एसबीआई बैंकको लाभांश गत वर्षको तुलनामा बढेको छ ।
ग्लोबल आईएमई र सिभिलको लाभांश गत वर्षकै बराबरीमा छ ।

यो वर्ष ४ वाणिज्य बैंकले सेयरधनीलाई कत्ति पनि लाभांश दिएका छैनन् । सञ्चालक समितिबाट चार वटा बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन् ।

लाभांश नदिने घोषणा गरेका बैंकहरूमा माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र एनआईसी एसिया बैंक छन् ।

यीमध्ये तोकिएका शर्त पूरा नभएपछि एनआईसी एसिया बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन ।

सनराइज बैंकले ७, माछापुच्छ्रे बैंकले १४ र लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिएका थिए ।

कृषि विकास बैंकबाहेक साधारण सेयर जारी गरेका सबै बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

Published : Sunday, 2022 December 25, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया