एन्फाको निकम्मा र असक्षम नेतृत्वले लिग गराउन सकेन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को असक्षम नेतृत्वका कारण शहीद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने पक्का भएको छ ।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबबीच चार घण्टासम्म बैठक बसेको थियो । बैठकमा सहमति हुन नसकेपछि लिग सर्ने पक्का भएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले शीर्ष डिभिजन लिग पुस २६ गतेबाट नहुने बताएका छन् ।

‘बैठकले कुनै निर्णय लिन सकेन’, प्रवक्ता शाहले भने, ‘पुस २८ गते कुनै पनि हालतमा लिग हुन सक्दैन ।’ एन्फाको पुस १४ गते बस्ने बैठकले लिगका विषयमा निर्णय गर्नेछ ।

लिग परिमार्जन गर्दै एन्फाले डबल राउन्ड रोबिन आधारमा प्रतियोगिता आयोजना गर्ने जनाएको थियो । केहि खेलहरू मोफसलमा पु¥याउने एन्फाले जनाएको थियो ।

एन्फाले लिग पाँच महिनासम्म गर्ने बताएको थियो । शीर्ष डिभिजन लिगको लागि बिहीबार अन्तिम टोली दर्ता मिति थियो ।

अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको छ ।

लिग कहिले हुने ? कसरी हुने ? मुख्य प्रायोजक के ? पुरस्कार रकम के दिने ? कुन मैदानमा खेल हुने ? केहि टुंगो छैन । झाराटार्ने लिग गर्न खोजेर मात्र केही नहुने खेलाडीहरूले जनाएका छन् ।

हालसम्म साविक उप–विजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र यसै सिजनको लागि बढुवा भएको चर्च ब्वाइज क्लबले मात्रै लिग खेल्न एन्फामा दर्ता गराएका छन् ।

बाँकी १२ क्लब साविक विजेता मछिन्द्र फुटबल क्लब, तेस्रो भएको न्युरोड टिम एनआरटी, सातदोबाटो युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड््स क्लब र बढुवा भएको खुमलटार युवा क्लबले दर्ता गराएका छैनन् ।

क्लबहरूले तयारी खर्च नपाएको भन्दै लिग खेल्न नसकिने बताएका थिए । क्लबलाई टिम दर्ता गर्न र पहिलो किस्ता बापतको १५ लाख रुपियाँ लैजान एन्फाको आह्वान थियो । एन्फाले पुस १ गतेदेखि ७ गतेसम्म टिम दर्ताको समय राखेको थियो ।

तयारी खर्च नपाउने भएपछि अधिकांश क्लबले एन्फामा टिम दर्ता नगराएका हुन् । एन्फाले पुस २८ गतेबाट ए डिभिजन लिग सञ्चालन गर्ने तयारी गरेको छ । पुस ७ गतेसम्म टिम दर्ता गर्न र तयारी खर्च लैजान एन्फाले पत्र लेख्दै आह्वान गरेको थियो ।

एन्फाले क्लबलाई दिने लिगको तयारी खर्च जुटाउन नसकेपछि छलफल टुङ्गोमा नपुगेको हो ।

एन्फा र क्लबहरू एकअर्कालाई दोषी देखाएर लिग नगर्न चाहन्छन् । लिग खेल्ने र खेलाउने दुवै पक्षले आर्थिक स्रोतको ब्यवस्थापनलाई कठिन मानिरहेका छन् । एन्फाको असक्षम नेतृत्व लिग नहुने दोष आफू बोक्न चाहँदैनन् ।

क्लबहरूले टिम दर्ता भएपछि लिगको तयारी गर्न कम्तिमा तीन महिना चाहिने माग अघि सारेका छन् ।

Published : Friday, 2022 December 23, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया