कोदो विश्वमै धेरै कुन मुलुकमा उत्पादन हुन्छ ? भारत–नेपालबीच कृषि भेला

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले काठमाडौंमा भारत–नेपाल कृषि भेलाको आयोजना गरेको छ ।

ईन्टरनेशनल ईयर अव मिलेन्टस २०२३ को सुरुवाती कार्यक्रमको रुपमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणसँगको सहकार्यमा भेला आयोजना गरिएको हो । भेला मंसिर २९ गते भएको थियो ।

कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषदले पनि सहभागिता जनाएको थियो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले कार्यक्रममा सहभागी नेपाली टोलीको नेतृत्व गरेका थिए ।

भारतको पहलमा ७२ अन्य देशहरूले समर्थन जनाउँदै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने प्रस्ताव सन् २०२१ मा संयुक्त राष्ट्र संघले पारित गरेकोे थियो ।

भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतले नौ विभिन्न प्रजातिका करिब १७ मिलियन टन कोदो उत्पादन गर्दछ । विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत भारतमा कोदो उत्पादन हुन्छ ।

कोदोमा विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा सहजै फल्छ ।

मौसम परिवर्तनले पनि खासै प्रभाव पार्दैन । मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याई छ ।

भारत–नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको र विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत–नेपाल नयाँ साझेदारी’ मा आधारित छ ।

भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एकअर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।

दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गरेका छन् ।

प्राधिकरणका निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रर्वधन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिएका छन् ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नेपालमा कोदोको महत्वबारे धारणा राखेका छन् ।

उनले कृषि क्षेत्रमा रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरू पनि पहिचान गर्नु पर्ने बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा.रामकृष्ण श्रेष्ठले प्रस्तुति दिएका थिए ।

कृषिमा भारत–नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ मा केन्द्रित हुँदै दूतावासले वर्ष २०२३ भरी नै विविध गतिविधि तथा कार्यक्रममार्फत कोदोको प्रर्वधन गर्नेछ ।

Published : Friday, 2022 December 16, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया