मोरङमा ग्याङ फाइट, बाबुको हत्या गर्ने छोरा पक्राउ, दुइटा बन्दुक बरामद

बिश्रामपुर । बारा जिल्लामा आफ्नै बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।

बिश्रामपुर गाउँपालिका–५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ ।

उता, मोरङको उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङसहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका–५ बस्ने २६ वर्षीय आसाङ लिम्बु समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार हुँदा गौतम तामाङसहित ३ जना घाइते भएका छन् ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न लिम्बु समेत ३ जनालाई खुकुरीसहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा र अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ ।

यता, प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–९ कमलदह घुर्मीखोलाबाट वेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा वेवारिसे अवस्थामा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Saturday, 2022 November 19, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया