पत्रकार सरोजराज अधिकारी सुन्धाराको होटेलमा मृत भेटिए

काठमाडौं । पत्रकार सरोजराज अधिकारी होटेलमा झण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बुधबार साँझ अधिकारी काठमाडौंको सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले बताएका छन् ।

कात्तिक २१ गतेदेखि अधिकारी घरबाट निस्केका थिए । बुधबार सरोजकी पत्नीले खोजीको माग गरेर प्रहरीमा निवदेन दिएकी थिइन् ।

अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको एसएसपी बोहराले बताएका छन् । अधिकारी दुई दिनदेखि होटेलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार पत्रकार अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

अधिकारी होटलको कोठा नम्बर ५०२ मा बसेका थिए । सोही कोठाको पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको मृत्यु के कति कारणले भएको हो भन्ने खुलेको छैन । प्रहरीले अधिकारीको मृत्युका विषयमा अनुसन्धान अगाडि बढाएको छ ।

पत्रकार अधिकारीले कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, नेपाललाइभ डटकमलगायतका पत्रिका र अनलाईनमा काम गरेका थिए ।

उनले ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ जस्ता किताब पनि प्रकाशित गरेका छन् ।

Published : Wednesday, 2022 November 9, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया