विदेशबाट ४ दिनअघि आएका बालेन्द्र र उनकी पत्नीको मृत्यु

बुटवल । रुपन्देहीमा एक दम्पती मृत फेला परेका छन् ।

सोमबार बिहान देवदह नगरपालिका–५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा मृत भेटिएका हुन् ।

कोठामा ढोकाभित्रबाट चुकुल लागेको अवस्थामा उनीहरूको शव फेला परेको देवदह प्रहरी चौकी प्रमुख (ईन्स्पेक्टर) गंगाबहादुर सारुले बताए ।

हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेका छन् ।

घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिनअघि मात्रै घर फर्किएका थिए ।

आइतबार साँझसम्म पारिवारिक कलह, झै–झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन् ।

बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राति आफन्तको घरमा सुत्न गएको थिए ।

छोराले बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए ।

Published : Monday, 2022 November 7, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया