बागलुङमा लामो समयदेखि फरार रहेका दुई अपराधी पक्राउ

बागलुङ । बागलुङमा प्रहरीले दुई जना फरार अपराधीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका– १३ का ५२ वर्षीय बिष्णु गिरी रहेका छन् ।

गिरीलाई बैकिङ्ग कसुरमा उच्च अदालत पाटनको संयुक्त इजलासले २०७६ कात्तिक १ गतेको फैसलामा कैद र दण्ड जरिवाना फैसला गरेको थियो ।

फैसलापछि गिरी फरार रहेका थिए । गिरीलाई प्रहरीले बलेवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

काठमाडौंको नागर्जुन नगरपालिका–९ दुर्गानगर बस्ने तार्कबहादुर कुँवरको जाहेरीले चेक बाउन्समा मुद्दा दिएका थिए ।

बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको फैसला आदेशले गिरीलाई २० दिन कैद र सात लाख छयानब्बे हजार रुपियाँ जरिवाना तोकिएको थियो । फैसलापछि गिरी हालसम्म फरार रहेका थिए ।

यसैबीच, बागलुङ नगरपालिका–१३ बस्ने करीव ५५ वर्षीय पिमबहादुर बिकलाई पनि प्रहरीले बोबाङबाट पक्राउ गरेको छ ।

बिकलाई कर्तव्य ज्यानको सर्वोच्च अदालतको २०६८ वैशाख १४ गतेको फैसलापछि फरार थिए । पिमबहादुरसमेतको समूहले २०६६ मंसिर ३० गतेका दिन बोबाङका मनप्रसाद बिकको हत्या गरेका थिए ।

२०६६ पुस ३ गतेका दिन उपचारको क्रममा ढोरपाटनतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा पिमबहादुरलाई सर्वोच्च अदालत काठमाडौंको २०६८ वैशाख १४ गतेको फैसला आदेशले १२ वर्ष ६ महिना कैद तोकिएको थियो । फैसलापछि पिमबहादुर फरार रहेका थिए ।

पिमबहादुरलाई घर नजिकै लुकेर बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।

Published : Saturday, 2022 November 5, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया