ठग ठेकेदार दाहाल धादिङमा पक्राउ, नख्खुमा लगेर थुनियो

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ ठेकेदार ५१ वर्षीय राममणि दाहाललाई पक्राउ गरेको छ ।

पक्राउ परेका दाहाल कामरु कन्स्ट्रक्सन प्रालिका संचालक हुन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ का दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको छ ।

कामरु कन्स्ट्रक्सन प्रालिका संचालक दाहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।

Published : Wednesday, 2022 November 2, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया