फूलमाया प्रकरणलाई एसपी ज्ञवालीले निर्मला काण्ड हुनबाट बचाए, प्रहरीको सफल अनुसन्धान

बागलुङ । बागलुङ प्रहरीले ४२ वर्षीया फूलमाया बोटे माझीको बलात्कारपछि हत्या गर्ने दोषीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले पत्रकार सम्मेलन गरेर फूलमायाका दोषी २६ वर्षीय प्रकाश योगीलाई सार्वजनिक गरेका हुन् ।

असोज २९ गते साँझ बागलुङ नगरपालिका वडा नं. १, खनियावासकी फूलमायाको शव फेला परेको थियो । उनको हत्या भएको अवस्थामा शव फेला परेपछि प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

फूलमायाको हत्या बागलुङ नगरपालिकाको वडा नं. १ खनियावासकै प्रकाशले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको एसपी ज्ञवालीले बताएका छन् । प्रकाशले पनि फूलमायाको हत्या गरेको बयान दिएको ज्ञवालीले बताएका छन् । हत्या गर्नुभन्दा केही समय अगाडि प्रकाशले फूलमायाको बलात्कार गरेको बयानका क्रममा भनेको एसपी ज्ञवालीले बताएका छन् । सो विषयमा चिकित्सकको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

मानसिक रोगी भएको जस्तो देखिएका प्रकाशले आफू चरम आर्थिक अभावमा रहेको, महिना दिनभित्र ३० हजार ऋण तिर्नुपर्ने लगायत कारणले फूलमायाको हत्या गरेको बयानका क्रममा बताएको एसपी ज्ञवालीले बताएका छन् ।

फूलमायाले पानी लिन जाँदा हेप्ने गरेको बयान प्रकाशले प्रहरी समक्ष दिएका छन् । पानीको पैसा नतिरेकोमा हेयका दृष्टिले हेर्ने गरेको र उक्त दिन आवेशमा आएर अपराध गरेको बयानका क्रममा अभियुक्त प्रकाशले स्वीकारेको एसपी ज्ञवालीले जानकारी दिएका छन् ।

फूलमायाको हत्या गरिएको दिन प्रकाशले बांगेचौर अदुवाबारी लामो पुलपारी गएर रक्सी खाएका थिए ।

दिउसो ४.३० बजे प्रकाशले फूलमाया आउने बाटोमा कुरेर बसेका थिए । फूलमाया दिउँसो ५.३२ मा घटनास्थलभन्दा माथिबाट झरेका थिए ।

पाँच मिनेट तल झरेपछि गणेश मन्दिरतिर पुग्दा प्रकाशले फूलमायालाई आक्रमण गरेर फूलमायाकै सलले घाँटीमा बेरेर बेहोस पारेका थिए ।

बेहोस भएपछि फूलमायालाई प्रकाशले बलात्कार गरी बाटोबाट खसालेको बयानमा बताएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ज्ञवालीले बताएका छन् ।

‘बलात्कारपछि हत्या गरेको बयानमा अभियुक्तले स्वीकारका छन् । स्वास्थ्य रिपोर्ट आदिले प्रमाणित गर्न बाँकी छ’, एसपी ज्ञवालीले भनेका छन् ।

हत्याको घटना साँझ ५.३२ देखि ५.५२ सम्म करिव १५ मिनेटका बीचमा भएको पनि प्रहरी प्रमुख ज्ञवालीले बताएका छन् ।
फूलमायाले बागलुङ बजारमा सामान्य ज्याला मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन् ।

फूलमायाको हत्या गर्नुमा प्रकाशसँग कुनै उदेश्य रहेको अनुसन्धानका क्रममा देखिएको छ । प्रकाशले फूलमायालाई हत्या गर्नुका पछाडिको कारण चरम आर्थिक अभाव र सानातिना आक्रोस बाहेक खास अन्य कारण नखुलेको एसपी ज्ञवालीले बताएका छन् ।

प्रहरीले घटना भएपछि १० वटा टोेली फरक–फरक ठाउँमा खटाएको थियो । शंका लागेका व्यक्तिलाई निगरानीमा राखिएको थियो । विशेष गरेर प्रकाश र अर्का एक व्यक्ति गरेर दुई जनालाई निगरानीमा राखेर अनसन्धान गरिएको एसपी ज्ञवालीले बताएका छन् ।

अभियुक्त प्रकाशलाई नियन्त्रण लिएपछि थप अनुसन्धानको लागि १० दिनको म्याद थपिएको छ । फूलमायाको हत्याको घटनामा अरुको पनि संलग्नता छ कि छैन भनेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । फूलमायाको लुटिएको सुन अझै अभियुक्तले देखाएका छैनन् ।

हत्यापछि अभियुक्त प्रकाशले फूलमायाले बजारबाट ल्याएको दाल हत्या भएको ठाउँमा जस्ताको तस्तै राखिदिएका थिए । फूलमायाको घरभन्दा ४ सय मिटर नजिकै अभियुक्त प्रकाशको घर छ । प्रकाश आफ्नी आमा र बाबासंग बस्दै आएका छन् । बाजुङ स्थाइ घर भएका प्रकाश लामो समयदेखि खनियावासमा बस्दै आएका छन् ।

यसअघि दुई जनासंग बिहे गरेपनि प्रकाशको वैवाहिक जीवन सफल नभएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।
नातामा फूलमाया अभियुक्त प्रकाशकी दिदीकी जेठानी हुन् । देउरानी र जेठानीको बोलिचाली पनि नरहेको अनुसन्धानका क्रममा खुलेको छ ।

फूलमायाका ३ छोरी र एक छोरा छन् । फूलमायाका पति चालक हुन् । फूलमायाको हत्या भएको उदिन उनका पति बुर्तिवाङ गएका थिए ।

हत्या भएकी फूलमायाँ पर्वत जिल्लाको मोदी गाउँपालिका–५ स्थायी घर भइ बागलुङमा बस्दै आएकी थिइन् ।

‘ब्यस्त बागलुङ बजारबाट ४/५ मिटरको दुरीमा भएको हत्या खासमा हामी सबैको लागि अत्यन्तै ठूलो चुनौती थियो’, एसपी ज्ञवालीले भनेका छन् ।

‘करिब २ महिनाअघि बागलुङकै निसिमा भएको टाउको बिनाको शव लगायतको सफल अनुसन्धान गरिएकै कारण पनि जनसमुदायमा नेपाल प्रहरीप्रति यो घटनाको पनि सफल अनुसन्धान हुनेमा ठूलो अपेक्षा देख्न सकिन्थ्यो’, ज्ञवालीले भनेका छन् ।

‘त्यसले गर्दा पनि बागलुङ प्रहरीलाई ठूलो चुनौती रहेको थियो’, उनले भने, ‘स्पष्ट निर्देशन र अनुसन्धानमा पूर्ण सहयोगको लागि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।’

‘मेरो सहकर्मी प्र.ना.उ गङ्गा थापा लगायत सम्पूर्ण बागलुङ प्रहरीले यो ७ दिनमा गरेको कडा परिश्रम र मेहनतको खुलेर प्रशंसा गर्दछु’, एसपी ज्ञवालीले भने, ‘बागलुङबासीबाट प्राप्त माया, ममता र भरोसाप्रति स्यालुट छ ।’

कञ्चनपुरी बालिका निर्मला पन्तको हत्यापछि बलात्कार भएको घटनाले टुंगो पाउन सकेको छैन । यस्तो अवस्थामा बागलुङ प्रहरीले अनुन्धानमा कुनै कसर बाँकी नराखेर दोषीलाई पक्राउ गरेर काम फत्ते गर्न सफल भएको छ ।

दुई महिना अगाडि पनि बागलुङमा पुरुषको शव टाउको नभएको अवस्थामा फेला परेको थियो । प्रहरीले सफल अनुसन्धान गरेर दोषीलाई कानूनको कठघराभित्र ल्याइसकेको छ ।

Published : Sunday, 2022 October 23, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया