झरनाको फिल्मले अमेरिकामा जित्यो अवार्ड

न्युयोर्क । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड–२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ ।

अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, विशिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, वरिष्ठ अभिनेताहरू शिव श्रेष्ठ र सुनिल थापा, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, लोकगायक रामप्रसाद खनाल लगायत दर्जनौ नयाँ पुराना कलाकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

अवार्डमा चलचित्र ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । निर्देशक झरना थापाले उक्त फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएकी छिन् । जुरी अवार्डमा चलचित्र मारुनीले बाजी मार्न सफल भएको छ ।

‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भएका छन् । वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले जितिन् । ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् ।

अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भइन् । डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ अवार्ड चुम्न सफल भएका छन् । सुधांशु जोशी उत्कृष्ट अभिनेता बन्दा उत्कृष्ट फिल्मको उपाधि ‘हेलो जिन्दगी’ले प्राप्त गरेको छ ।

विशिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई संगीत रत्न ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरिएको छ ।

अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरिएको छ । भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरिएको छ ।

विशेष सम्मान सुनिल पाठकलाई गरिएको छ । कृष्ण सुनार, मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पारेका छन् । फिल्म फेष्टिवल तथा अवार्ड कार्यक्रम भव्यताको सम्पन्न भएकोमा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, प्रायोजक, सह–प्रायोजक, सहयोगी संघ संस्था तथा व्यक्तिहरूलाई उनले धन्यवाद दिएका छन् ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले आगामी वर्षहरूमा निरन्तर भव्य अवार्ड कार्यक्रम गर्दै लैजाने र अवार्डको गरिमालाई उच्च बनाउने बताएका छन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मूभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसीले अवार्ड कार्यक्रम संयुक्त रुपमा आयोजना गरेको थियो ।

Published : Tuesday, 2022 October 18, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया