काठमाडौंमा १६ जना जुवातास खेलिरहेका व्यक्ति पक्राउ, दश लाख पनि बरामद

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेलिरहेका १६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका–१४ घर भएका २२ वर्षीय सन्दीप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक मकवानपुर घर भएका ४२ वर्षीय कृष्ण बहादुर लामा समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपियाँ र २१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता, प्रहरीले काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपियाँसहित भारतीय नागरिक ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रूपियाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

Published : Friday, 2022 October 14, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया