दरबारमार्गको क्लब प्लाटिनका बाउन्सर कुट्ने ग्याङका सदस्यहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई जना युवामाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार भएको थियो ।

धारिलो हतियार प्रहार गरेर दुई जनाको समूह भागेको थियो । फरार रहेका २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा दोलखाको शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन् ।

चोक नजिक मोटरसाइकलमा आएका ७÷८ जना अपरिचित व्यक्तिहरूको समूहले निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार भएका थिए ।

घटनाको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये विनोद र जीवनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ ।

उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

Published : Thursday, 2022 October 13, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया