लालीगुराँस र स्टारबीच मर्जरको शक्तिशाली सम्झौता

पुल्चोक । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच मर्जर गर्ने सम्झौता भएको छ ।

बिहीबार ललितपुरको पुल्चोकस्थित लालीगुराँसको मुख्यालयमा लालीगुराँस र स्टारबीच मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा लालीगुँरासका अध्यक्ष अमरदास श्रेष्ठ र स्टारका अध्यक्ष दिनेश राईले हस्ताक्षर भएका छन् ।

लालीगुराँस र स्टारबीच मर्जरका लागि प्रक्रियाहरू मिलाउन संयोजन कार्यदल गठन गरिएको लालीगुराँसका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले बताएका छन् ।

कार्यदलमा लालीगुँरासको तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उप–समितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैरे रहेका छन् । स्टारको तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट प्रयास श्रेष्ठ रहेका छन् ।

बहुउदेश्यीय सहकारीमा ललितपुरको पुल्चोकमा मुख्यालय रहेको लालीगुराँस आर्थिक रुपले निकै ठूलो र सक्षम मानिन्छ । लालीगुराँस र स्टारबीच मर्जर हुनेवित्तिकै निक्षेपकर्ता, कर्मचारी र सेवाग्राहीलाई झन् गुणस्तरीय सेवा हुनेछ ।

यसअघि, लालीगुराँस र ललितपुरकै गतिशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबीच मर्जर गर्ने सहमति भइसकेको छ ।

लालीगुराँसले आफूलाई आर्थिक रुपले झन् बलियो बनाउने प्रयासहरू गरिरहेको छ । सेवाग्राही र निक्षेपकर्तालाई कसरी झन् राम्रो सेवा दिन सकिन्छ भनेर व्यवस्थापनले गृहकार्यहरू गरिरहेको छ ।

लालीगुराँसले आगामी ६ महिनाभित्र करीव १५ देखि २० वटा सहकारीलाई मर्जर गर्ने नीति लिएको छ ।

Published : Thursday, 2022 September 22, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया