‘धुन्धुकारी’ अधिकारीलाई प्रहरीले मकाउबाट कठालो समातेर काठमाडौं ल्यायो

काठमाडौं । ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।

लमजुङको दोर्दी गाउँपालिका–१ भर्ते ठेगाना भएका अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि प्रहरीको मानव बेचबिखन व्यूरोको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

खोजी गर्ने क्रममा ईन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीले मासिक १ लाख ५० हजार रुपियाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरूमार्फत् २५/२५ सय डलर र पासपोर्ट समेत लिएका थिए ।

अधिकारीले उनीहरूलाई दुबईमा राखेकोमा दुबईबाट लिविया हुँदै ईटाली लाने भनी पीडितहरूबाट पुनः ३ लाख रूपियाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाएका थिए ।

अधिकारीले लिवियाको शरणार्थी क्याममा राखिएको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो ।

उनलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन व्यूरोमा बुझाइएको छ ।

नेपाल प्रहरीको नेतृत्व प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सम्हालेपछि अपराध गर्नेहरूलाई विदेशमा रहे पनि त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेर नेपाल ल्याउन थालिएको छ ।

Published : Tuesday, 2022 August 30, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया