पाकिस्तानमा १६ महिना खोरमा बसेर आएका मान्छेको काठमाडौंमा काण्ड, प्रहरीसँग चकित परे सुकबहादुर

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले सुकबहादुर तामाङलाई लागुऔषधसहित विभिन्न प्रतिबन्धित चिजवस्तुसहित पक्राउ गरेको छ ।

भदौ ८ गते ब्यूरोको टोलीले तामाङलाई तार्केश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकबाट पक्राउ गरेको ब्यूरोका प्रमुख (एसएसपी) विकास खनालले बताए । धादिङको खनियावास– १ घर भएका तामाङलाई प्रहरीले सडकमा शरीर खानतलासी गर्दा उनको साथ र डेराबाट लागुऔषध र अन्य अवैध चिजवस्तुहरू बरामद भएका छन् ।

तामाङलाई लागुऔषध एम्फेटामाईनप्रति ग्राम १० हजारमा बिक्री गर्न जाँदा ब्यूरोको टोलीले पक्राउ गरेको थियो । तामाङले थाईल्याण्डबाट आफै ल्याएको लागुऔषध एम्फेटामाईन ७९ ग्राम, चरेस ४ किलो ९४ ग्राम, गाँजा ९० ग्राम, नेपाली रुपियाँ ६ लाख ७५ हजार, नक्कली अमेरिकन डलर २३६ र नक्कली नेपाली रुपियाँ १ हजारको नोट बरामद भएको एसएसपी खनालले बताए ।

तामाङको साथबाट पाकिस्तान, भुटान, म्यान्मार, माल्दिभ्स, फिलिपिन्स, युएई, मलेसिया, भारत र बंगलादेशका विभिन्न दरका नोटहरू पनि बरामद भएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तामाको साथबाट ब्यूरोले सालकको खपेटा ११ वटा, जनावरको दाँत जस्तो देखिने ठूलो दाँत ६ वटा, पंक्षीको खुट्ट ३ वटा, जनावरको जस्तो देखिने ४ वटा दाँतसहितको हड्डी १ वटा, जनावरको खुर जस्तो देखिने कालो रङको खुर १ वटा, जनावरको खुट्टाको पञ्जा जस्तो देखिने चार वटा हड्डीसहितको बस्तु १ वटा र जनावरको हड्डी जस्तो देखिने टुक्राहरू ८ वटा बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

तामाङ २०७४ माघ ४ गते १ किलो खैरो हेरोईनको क्याप्सुल निली पेटमा लुकाई पाकिस्तानबाट श्रीलंका जान लाग्दा पाकिस्तानको लाहोर एयरपोर्टबाट पक्राउ परी १६ महिना जेल बसी छुटेर आएको अनुसन्धानका क्रममा खुलेको एसएसपी खनालले बताए ।

Published : Saturday, 2022 August 27, 9:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया