बालक अपहरण र हत्या गर्ने अपराधी, ईञ्जिनियर र जमुनाको जालो काठमाडौंमा ब्यूरोले भत्काइदियो

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्यूरो, कोटेश्वर, काठमाडौंले तीन जना लागुऔषध कारोबारीहरूलाई रङगेहात पक्राउ गरेको छ ।

ब्यूरोले ललितपुरको झम्सीखेलबाट ३८ वर्षीय नवीन श्रेष्ठलाई नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको ब्यूरोका प्रमुख (एसएसपी) विकासराज खनालले जानकारी दिए । नवीनलाई ब्यूरोले बुप्रेनोर्फिन २४३, फेनारगन २४३, र डाइजेपाम २४३ एप्पुलसहित भदौ २ गते पक्राउ गरेको छ । नवीनसँग ब्यूरोले २० हजार नगद पनि बरामद गरेको छ ।

लागुऔषधसहित रङगेहात पक्राउ परेका नवीन बालकको अपहरण गरेर हत्या गरेका अपराधी हुन् । नवीनले २०६४ सालको असोज १७ गते बा १ ज २३०३ नम्बरको ट्याक्सीमा ८ वर्षीय बालक धिरज अधिकारीलाई अपहरण गरेर हत्या गरी बागमती खोलामा पोको पारेर फालेका थिए ।

सो अपराधमा नवीनले कर्तव्य ज्यान मुद्धामा आठ वर्ष चार महिना कैद भुक्तान गरि छुटेका थिए । जेलबाट छुट्नेवित्तिकै नवीन लागुऔषध कारोबारमा लागेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताएका छन् ।

यसैबीच, ब्यूरोले धरान उप–महानगरपालिका–१० घर भएका ४३ वर्षीय ध्रुब लिम्बुलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ । ध्रुबलाई भदौ ३ गते काठमाडौंको कालोपुलबाट लागुऔषध बुप्रेनोर्फिन ५६०, फेनारगन ५८४ र डाइजेपाम ७३७ एम्पुलसहित पक्राउ गरिएको एसएसपी खनालले बताए ।

पक्राउ परेका ध्रुब पेशाले सिभिल ईञ्जिनियर हुन् । भारतमा अध्ययन गरेका ध्रुबले आफ्नै कोठामा कम्युटर र मोबाइल मर्मतको काम गर्दै आएका थिए ।

पक्राउ परेका ध्रुबको बयानका आधारमा ब्यूरोले ४० वर्षीय जमुना साह तेलीलाई बाफलस्थित होस्टेलको कोठाबाट पक्राउ गरेको छ । जमुनाले टिभिएस मोटरसाईकलको फ्युल ट्याङ्कीको तल्लो भागमा काटेर खण्ड–खण्ड बनाइ (भित्री फल्स बटम) एउटा खण्डमा लागुऔषध र अर्को खण्डमा फ्युल हालेर लागुऔषध ओसार–पसार गर्ने गरेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताएका छन् ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ घर भएका जमुनाको बाफलस्थित कोठाबाट ब्यूरोले बुप्रेनोर्फिन ९८, डाइजेपाम १०२ एम्पुल र मोटरसाईकल बरामद गरेको छ ।

जमुनाले भारतको रक्सौलबाट लागुऔषध काठमाडौं ल्याए वापत एक पटकमा ५० हजार लिने गरेको एसएसपी खनालले बताए । जमुनाले फ्युल बाटोमा सक्किने डरले पानीको बोतलमा भरेर ल्याउने गरेका थिए ।

जमुनाले लागुऔषध ल्याएर ध्रुबलाई बिक्री गर्न दिने र ध्रुबले नवीनलाई सो लागुऔषध बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी (प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एसएसपी खनाल ब्यूरोको नेतृत्वमा आएपछि काठमाडौं उपत्यकाभित्र हुने लागुऔषधको जालोलाई क्रमशः भत्काउन थालेका छन् । खनाल आउनेवित्तिकै ठूलो परिमाणमा हेरोइन, तरकारीको बोरामा लुकाएर ल्याएको लागुऔषधलगायत बरामद भइसकेको छ ।

Published : Monday, 2022 August 22, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया