महोत्तरीका यी मान्छेको पाप धुरीबाट करायो

बर्दिबास । महोत्तरीमा प्रहरीले मिटर व्याज लिएर सर्वसाधारणलाई दुःख दिने ५० वर्षीय अनुरुद साहलाई पक्राउ गरेको छ ।

पीडितहरूको उजुरीका आधारमा साहलाई भदौ ४ गते शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।

साहलाई प्रहरीले भंगहा नगरपालिका–५ सीतापुर, भंगहाबाट पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

भंगहा नगरपालिका–५ बस्ने चन्द्रकला महराले साहसँग २०७७ साल असार २५ गते ३ महिनाको भाका राखी पचास हजार ऋण लिएकी थिइन् ।

तोकेको ३ महिनाको अबधीभित्र दुई पटक रू. २०/२० हजारको दरले रू ४० हजार र एक पटक रू.१० हजार गरी रू.५० हजार रकम फिर्ता महराले फिर्ता गरेकी थिइन् ।

मिटर व्याजी साहले नौ लाखको कागज गराई राखेको भन्दै महरालाई अदालतमा मुद्दा दिने धम्की दिँदै आएका थिए । पीडित महराले साहविरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साहले विभिन्न मितिमा १३ जना व्यक्तिहरूसँग रू.२० लाख ३३ हजार ठगी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत साहविरुद्ध उजुरी प्राप्त भई सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको एसपी पंगेनीले बताएका छन् ।

जनकपुर उप–महानगरपालिका–७ स्थित मिटर व्याजी साह बस्ने गरेको ससुराली घरको कोठामा समेत प्रहरीले छापामारेको छ ।

साहको कोठामा तलाशी गर्दा विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी थान–९ र एकहत्तर लाख चवालीस हजार तीन सय पचास रुपियाँ बराबरको कपाली कागज (तमसुक) पाना ७ बरामद गरिएको एसपी पंगेनीले बताएका छन् ।

मिटर व्याजी साहबाट ठगिएका तथा आर्थिक शोषणमा परेका पीडित व्यक्तिहरूबाट थप जाहेरी लिने कार्य भइरहेको छ । साहलाई थुनामा राखेर अनुसन्धान गर्न महोत्तरी प्रहरीले अदालतबाट ५ दिनको समय लिएको छ ।

यसअघि, साहबिरुद्ध संजिला देवीसहित १४ जनाले २०७७ माघ २९ गते प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । त्यस बेला साहविरुद्ध ४२ लाख ९२ हजार १ सय ९० रुपियाँ बिगो दावीसहितको महोत्तरी जिल्ला अदालतमा दर्ता भएको थियो ।

अदालतले उनलाई १ लाख ५० हजार रुपियाँ धरौटी लिएर तारेखमा छाडेको थियो । साहको सो मुद्धा अहिले पनि अदालतमा विचाराधीन छ ।

Published : Monday, 2022 August 22, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया