बागलुङमा टाउको छिनाइएको शव, ५६ घण्टामै आरोपी २ महिला पक्राउ

बागलुङ । बागलङ प्रहरीले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’को हत्या अभियोगमा पत्नी र सालीलाई पक्राउ गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार सम्मेलन गरेर तुलबहादुरको टाउको छिनाएर हत्या अभियोगमा दुई जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा २२ वर्षीया पत्नी कुमारी कामी र साली १८ वर्षीया मनीषा बिक रहेको बागलुङ प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

घटना भएको जानकारी पाउने प्रहरीले ५६ घण्टाभित्र अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । घटनाको अनुसन्धान गर्न एसपी ज्ञवाली आफैले अनुसन्धान टोलीको नेतृत्व गरेर घटनास्थल निसीखोला पुगेका थिए ।

अपराधलाई लुकाउन र अपराध गरेको व्यक्ति भाग्न नपाओस् भनेर एसपी ज्ञवाली आफै खटिएका हुन् ।

भदौ १ गते अन्दाजी सवा ११ बजेको समयमा निसीखोला–४, कालीमाटीस्थित निसीखोलाको किनारमा निसीखोला–५, कामीडाँडा बस्ने गुनबहादुर कामीको छोरा तुलबहादुरको घाँटी काटिएको अवस्थामा टाउको नभएको शव फेला परेको थियो ।

ज्यानसम्बन्धी कसूरको अनुसन्धानका क्रममा साउन २५ गते रातको समयमा तुलबहादुर बिकलाई उनकी पत्नी कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एसपी ज्ञवालीले बताएका छन् ।

कुमारीले आफ्ना पति तुलबहादुर बिकलाई बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लगेर शव खोलामा बगाइदिएको अनुसन्धानका क्रममा खुलेको ज्ञवालीले बताए ।

अभियुक्त कुमारी कामीलाई पक्राउ गरिएको साथै उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने (सूचना लुकाउने) कुमारी कामीकी बहिनी मनीषा बिकलाई भदौ ४ गते नियन्त्रणमा लिइएको एसपी ज्ञवालीले बताए ।

पक्राउ परेका कुमारी र मनीषालाई प्रहरीले आइतबार जिल्ला अदालत बागलुङबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

यस्तो थियो घटना

तुलबहादुरको हत्या भएको अवस्थामा टाउको बिनाको शव भेटिएपछि प्रहरीले परिवार, साथीभाई र विभिन्न प्राविधिक कुराहरू हेरेर अनुसन्धान अगाडि बढाएको थियो । वैदेशिक रोजगारीमा जानका लागि भिसा लगाएर काठमाडौंबाट तुलबहादुर भरखरै घरमा आएका थिए ।

तुलबहादुर आफ्नो बुबाको घरमा नबसेर पत्नीको माइतमै बस्दै आएका थिए । पत्नीसँग उनको धेरै राम्रो सम्बन्ध नरहेको देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । पत्नीलाई विभिन्न आक्षेप लगाउने, होच्याउने र मायाप्रेम नगर्ने जस्ता कार्य तुलबहादुरले गरेको छरछिमेकीले बताएका छन् ।

तुलबहादुरले घटना भएको राति आफ्नी साढे २ वर्षकी छोरीलाई र पत्नी कुमारी कामीलाई कुटपिट गरेको बयान कुमारीले प्रहरीलाई दिएकी छिन् । रक्सी खाएर आएर कुटपिट गर्ने, झैं–झगडा गर्ने गरेका कारण हत्या गरेको बयान कुमारीले दिएकी छिन् ।

Published : Sunday, 2022 August 21, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया