तेक्वान्दोमा रेखमायाले जितिन् स्वर्ण, मलेसियामा नेपाललाई ३ रजत

काठमाडौं । सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १ स्वर्ण र ३ रजत पदक जितेको छ ।

मलेसियामा शुक्रबारदेखि शुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी छिन् ।

उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिएका छन् ।

महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत जितेकी छिन् ।

मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अंकका साथ रजत पदक पक्का गरिन् ।

यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत जितेका छन् ।

७ जनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा ५ खेलाडी छनोट भएका थिए ।

मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जितेका छन् । खानले ७.४९ अंक ल्याएका थिए ।

पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए ।

Published : Saturday, 2022 August 20, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया