काठमाडौं मै यी डाँकाहरू पक्राउ, १६ वर्षपछि फेला परे कोटेश्वरका अर्का अपराधी

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डाँका कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ तालामाराङ ठेगाना भएका ३८ वर्षीय रामसिंह तामाङ ‘सागर’, काठमाडौंको जोरपाटी बस्ने मकवानपुरको बागमती गाउँपालिका–८ ठेगाना भएका ३८ वर्षीय दिलबहादुर सिङतान र जोरपाटी बस्ने मकवानपुरको बकैया गाउँपालिका–५ ठेगाना भएका ३५ वर्षीय बाबुलाल थिङ ‘सुशील’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको साथै उपत्यकाका विभिन्न ३ स्थानमा तथा उपत्यका बाहिर १ स्थानमा डाँका चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले डाँका गर्ने क्रममा परिवारका सदस्यहरूको हात बाँधी मुखमा टेप लगाउने, आफूहरूलाई कहिले प्रहरी हौँ खानतलासी गर्न आएको भन्ने तथा कहिले सशस्त्र समूह हौँ तपाईहरूको घरमा अवैध धन लुकाएर राखेको रहेछ देखाउनुस् भनि डर, धम्की देखाउने, डाँका गर्ने घरमा अगाडि नै रेकी गरी घरधनीलाई भेटी तपाईको घरमा पुरानो टिभी रहेछ भित्रको सामान बहुमूल्य हुन्छ २ लाखसम्म आउँछ भनी घरको कोठाहरू अवलोकन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू यस अगाडि पनि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूको साथबाट प्रहरीले डाँका चोरी गरेको नगद १ लाख ४२ हजार १ सय ५ रूपियाँ, २ थान खुकुरी, १ थान रड, १ थान मोटरसाइकल र ५ थान मोबाइल बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ ।

यसैबीच, प्रहरीले कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका दोलखाको बैतेश्वर गाउँपालिका–२ टार ठेगाना भएका ३६ वर्षीय रामकुमार मगर घटनाको १६ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने २३ वर्षीय मनोज खड्काको कोटेश्वरस्थित सडकमा २०६३ साउन २ गते राति कुटपिट एवं धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका मगर वैदेशिक रोजगारीको लागि कतारमा रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई रेड कर्नर नोटिस जारी गर्न २०७८ चैत २४ गते लेखापढी भएकोमा सोही शाखाको समन्वयमा कतारबाट नेपाल ल्याई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा बुझाइएको हो ।

उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2022 August 16, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया