नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नवलपुरमा गर्न माग

नवलपुर । नवौं राष्ट्रिय खेलकुद नवलपुरमा सञ्चालन गर्नुपर्ने खेलाडी, प्रशिक्षक र जनप्रतिनिधिहरूले माग गरेका छन् ।

सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको खेल मैदान व्यवस्थापन उप–समितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको कार्यक्रममा नवलपुरमा प्रतियोगिता गर्न माग गरेका हुन् ।

नवलपुर नगरपालिकाकी उप–प्रमुख फूलकुमारी थनेतले नवलपुरमा खेलकुदका पूर्वाधारहरू पर्याप्त रहेको बताइन् । उनले नवलपुर नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

करिव ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता आफ्नो नगरपालिकामा सञ्चालन गर्न पाउनु गौरवको विषय भएको उनले बताएकी छिन् ।

कावासोती वडा नम्वर १२ का वडाध्यक्ष समेत रहेका पूर्व खेलकुद विकास समिति नवलपुरका सचिव ध्रुव खनाल ‘दीपेश’ले नवलपुरमा नवौं खेलका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको भन्दै आफूहरू प्रतियोगिता सञ्चालन गर्न उत्साहित रहेको बताए ।

जिल्ला क्रिकेट संघ नवलपुर पूर्व अध्यक्ष प्रकाश पौडेलले नवलपुरमा क्रिकेटका पूर्वाधारहरू प्रशस्त रहेको बताए । उनले यसपटक क्रिकेट खेल सञ्चालनको जिम्मेवारी आफूहरूले पाउनुपर्ने बताएका छन् ।

जिल्ला फुटबल संघ नवलपुरका उपाध्यक्ष मेघराज पाण्डेले नवलपुरमा राष्ट्रियस्तरकै महिला खेल आफूहरूले यसअघि सम्पन्न गरिसकेको हुनाले आफूहरू पुरुष र महिला दुबै खेल सञ्चालन गर्न सक्षम रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा खेलस्थल व्यवस्थापन उप–समितिका संयोेजक राजेशकुमार गुरुङले नवौं खेलकुद सञ्चालनका लागि नवलपुरले देखाएको सक्रियताले आफूलाई खुशी लागेको बताएका छन् ।

कार्यक्रममा समितिका अध्यक्ष सेतबहादुर पुन, मेधनीलाल पाण्डेको पनि उपस्थिति रहेको थियो ।

खेलस्थल व्यवस्थापन उप–समितिले जिल्लास्थित कर्भडहल र कावासोती–३ स्थित नमूना सदरमुकामको हाताभित्र रहेको खेलकुद विकास समितिको १५ बिघा जग्गाको अवलोकन गरेको छ ।

असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । ४०७ पदका लागि प्रतिस्पर्धा हुनेछ ।

Published : Monday, 2022 August 15, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया