छोरो छिराएर लुट मच्चाउने गणेश थापाको योजना चक्नाचुर

काठमाडौं । भ्रष्टाचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापा अखिल नेपाल फुटबल संघ (एन्फा)को सहायक महासचिव पदमा नियुक्तिको कुरा तत्कालका लागि टरेको छ ।

गणेश थापाले आफ्ना छोरा गौरवलाई सहायक महासचिव पदमा नियुक्तिका लागि दवाव दिँदै आएका थिए । गणेश आफ्ना छोरा गौरवमार्फत एन्फामा पुनः छिर्न खोजेका छन् ।

गौरवलाई सहायक महासचिव नियुक्त गर्ने उपाध्यक्ष विराटजंग शाहीले बिहीबारको बैठकमा प्रस्ताव गरेका थिए । शाहीको सो प्रस्ताव असफल भएको छ ।

विवादित व्यक्ति गौरवलाई एन्फामा ल्याउन नहुने भन्दै विरोध भएको छ ।

एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङले विशेष साधारणसभापछि मात्र सहायक महासचिव लगायतको पदमा नियुक्त गर्ने बताएको एक सदस्यले उल्लेख गरेका छन् ।

२०७२ को कात्तिकमा फिफाले एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध लगाउँदा गणेश थापाका छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त घटनामा मुछिएका थिए ।

एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालीन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो ।

एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए । गौरवको खातामा आएको पैसा घुस भएको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएको थियो ।

Published : Friday, 2022 August 12, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया