प्रहरीद्वारा काठमाडौंमा लुकेर बसेको ‘माछा’हरू पक्राउ, एक करोड नै बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नरदेवीबाट तीन जनालाई एक करोड बराबरको नगद र चेक बरामद गरेको छ ।

सोमबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानूनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्य रहेका छन् ।

प्रहरीले उनीहरूसँग रहेको ७४ लाख नगद बरामद गरेको जनाएको छ । उनीहरूको साथबाट २६ लाख ३२ हजार ८ सय ५० रुपियाँ बराबरको ९ वटा चेक बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

बैंकले ठूलो रकम ऋण दिन मान्दैनन् । तर, हुण्डी कारोबारीले करोडौंको कारोबार गरिरहेका छन् । प्रहरीले दैनिक सरह अबैध रकम बरामद गर्दै आएको छ ।

Published : Tuesday, 2022 August 9, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया