काठमाडौंको गौतमश्री सहकारी पनि खाल्डोमा ‘जाक्कियो’, सञ्चालकहरू कुम्ल्याएर भागे

काठमाडौं । काठमाडौंको कुलेश्वरमा मुख्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध उजुरी परेको छ ।

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले सहकारीका बचतकर्ताहरूले विभागमा उजुरी दिएको पत्रकारहरूलाई बताएका छन् ।

बचतकर्ताहरूले शुक्रबार सहकारीविरुद्ध ठगीको आरोपमा उजुरी दिएका हुन् ।

सहकारीमा करीव २५ हजार बचतकर्ता छन् । सो सहकारीले ७ अर्ब रुपियाँ बचत परिचालन गरेको जनाइएको छ ।

सहकारीका सञ्चालक र व्यवस्थापकहरू कार्यालयमा ताला लगाएर भागेको बचतकर्ताहरूले विभागमा दिएको उजुरीमा उल्लेख छ ।

सहकारीको सात स्थानमा सम्पत्ति रहेको छ । सो सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरीलाई पत्राचार गरेको छ ।

विभागले सहकारीका अध्यक्ष रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । रामबहादुर र निर्मलाको ठेगाना काभ्रेपलाञ्चोकको धुलिखेलमा पर्छ ।

सञ्चालक समितिका राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह लगायतको बैंक खाता रोक्का गर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

सहकारीको कुलेश्वरमा रहेको केन्द्रीय कार्यालय भवन तथा जग्गा, टेकुमा रहेको सेवा केन्द्र, पोखरामा रहेको सेवा केन्द्र, नारायणगढमा रहको सेवा केन्द्रहरूलाई सञ्चालन गर्न रोक लगाएको छ ।

सहकारीको कुलेश्वरमै रहेको मार्ट, तथा दुग्ध प्रशोधन केन्द्र, हेटौंडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म छ ।

अध्यक्ष गौतम चीनबाट कृषि औजार र मेसिनरी ल्याएर व्यापार गर्दै आएका छन् ।

सहकारीको केन्द्रीय कार्यालय रहेको भवनमा एभरेष्ट बैंकले सिल गरेको छ । बिहीबार सहकारीका बचतकर्ताले सहकारी कार्यालय घेराउ गरेपछि बैंकले भवन सिल गरेको थियो ।

केही सहकारीहरूले ठूला काण्डहरू गरेर ठगी गरिरहेका बेला अर्को सहकारीको काण्ड बाहिर आएको छ । सीमित सहकारीबाहेक धेरै सहकारीहरू डुब्ने अवस्थामा छन् ।

Published : Monday, 2022 August 1, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया