गोदावरीमा नगदसहित जुवाडेहरूको ग्याङ पक्राउ

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा प्रहरीले छापाहानेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महाकाल गाउँपालिका–२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलीरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

घिमिरेको घरमा जुवातास खेलीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपियाँसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ३ बुक तास र १७ वटा कौडा समेत फेला पारेको छ ।

उता, प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ धरहरास्थित घिसिङ होटलमा जुवातास खेलीरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया जमुना मोक्तानसहित ७ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ७० रूपियाँसहित पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ५ थान मोबाइल, १६ थान कौडा र १ बुक तास पनि बरामद गरेको छ ।

Published : Monday, 2022 August 1, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया