डा.उपाध्यायको ११० विश्व रेकर्ड, संगीतकार सन्तोषको पनि नाम जोडियो

काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपालसहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् ।

बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाण पत्र सहरी विकासमन्त्री मेटमणी चौधरीले प्रदान गरेका छन् ।

मन्त्री चौधरीले डा.उपाध्याय अद्भूत क्षमता रहेको व्यक्तिको रुपमा चर्चा गरेका छन् । उनले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको यो योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताएका छन् ।

अझै धेरै कीर्तिमान कायम गर्दै जानका लागि शुभकामना समेत दिएका मन्त्री चौधरीले डा. उपाध्यायको अद्भूत क्षमता सबैको खोजको विषय हुनुपर्ने बताएका छन् ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ ।

गीत नेपालसहित हिन्दी, जापानी, चिनियाँ, अंग्रजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डिक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

खनाल समाजका अध्यक्ष केदारनाथ खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनाल लगायतको गीतका उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको बताए ।

तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो । यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको कीर्तिमान ११० पुगेको छ ।

संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार कुबेर गिरी, तुलसी गिरी, कृष्ण भुषाल, गीता अधिकारी लगायतले पचास भाषामा गीतमा निर्वाह गरेको भूमिकामार्फत विश्व रेकर्डको प्रमाण पत्र हात पारेका छन् । उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन् ।

Published : Thursday, 2022 July 28, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया