प्रथम नृत्य निर्देशक थापालाई ‘दीर्घ साधना सम्मान’, कुवेरलाई पनि सम्मान

काठमाडौं । नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् ।

नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५औं वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगदसहित सम्मान प्रदान गरिएको हो ।

नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगदसहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरेका छन् ।

रातोपाटी डटकमका पत्रकार कुवेर गिरी ‘रंग पत्रकारिता सम्मान’, सहनाईवादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक संस्कृति सम्मान’बाट सम्मानित भएका छन् ।

पूर्व उप–राष्ट्रपति परमानन्द झा, प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसी, निर्देशक नारायण पुरी लगायतले सम्मान पत्र तथा दोसल्लासहित सम्मान प्रदान गरेका थिए ।

विभिन्न जातीका लोक बाजा तथा नृत्यसहित शुरु भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले २०६५ मा स्थापना भएको प्रतिष्ठानले मेचीदेखि महाकालीसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिएका छन् ।

पूर्व उप–राष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला संस्कृतिको उत्थान गर्दै आएको थाहा पाउँदा आफू निकै हर्षित भएको बताएका छन् ।

‘मलाई मनपर्ने नेपाली लोक नृत्य हेर्दा निकै खुशी लाग्यो’, झाले भने, ‘मभन्दा पनि जेठो वयोवृद्धा नृत्य निर्देशक भैरवबहादुर थापालाई गरेको सम्मान तथा आ–आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिलाई गरेको सम्मान निकै सह्रनीय छ ।’

प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठानमार्फत नेपाली लोक कला तथा संस्कृतिलाई विश्वमाझ चिनाउन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् ।

उनले नेपाली मौलिक लोक सस्कृतिको क्षेत्रका बिभिन्न क्षेत्रमा योगदान गर्नेलाई आगामी दिनमा पनि विभिन्न कार्यक्रम गरेर सम्मान गर्ने बताए ।

समारोहमा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मालाई बधाई तथा सम्मानपत्र, प्रतिष्ठानका संस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, सस्थापक महासचिव तथा नृत्य निर्देशक दिनेशकुमार लामा, नृत्य निर्देशक शम्भु शाही, नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरिएको छ ।

ईभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल, गायक शिशिर योगीले समेत सम्मान पत्र प्राप्त गरेको कार्यक्रममा वर्माकी नेपाली भाषी गायिका डीना चौलागाइँ, नेपाल समाचारपत्रकी रश्मी थापा, वाद्यवादक न्हुच्छेराजा मुनिमर लगायत कदरपत्रबाट सम्माति भएका छन् ।

गायक शिशिर योगी, कृष्ण रेउले, सुनिता परियारलगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डी लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरिएको थियो ।

Published : Thursday, 2022 July 28, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया