यो हो कल्पनामार्फत काठमाडौंमा मान्छेहरू फसाउने ग्याङ

काठमाडौं । ‘हनि ट्रयापिङ’मा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको बौद्ध बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्ने कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् ।

कल्पना बस्नेत र कृष्णहरि खड्का पति र पत्नी हुन् । कृष्णहरिले आफ्नै पत्नी कल्पनालाई प्रयोग गरेर कर्तुत गर्दै आएका थिए ।

काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरूमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक संजालमार्फत सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई डर धम्की तथा त्राश देखाई मोल–मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको आरोपमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठूलो रकम माग गर्ने, दवावमुलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी निरीक्षक खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने गरेका थिए ।

पीडित व्यक्तिका आफन्तलाई समाजिक संजालमार्फत साथी बनाई प्रहरीकोमा निबेदन दिएको छु भनि नक्कली प्रहरी निरीक्षकसँग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2022 July 20, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया