बागलुङमा ठूलो परिणाममा लागूऔषध बरामद, दाङसहित ४ जिल्लाका मानिस पक्राउ

बागलुङ । प्रहरीले बागलुङ जिल्लामा ठूलो परिणाममा लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो करीव १ बजेको समयमा बुटवलबाट बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नं. को बसमा लागूऔषधको ओसारपसार भएको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा गई लु २ ख ५३१६ नं. बस चेकजाँच गर्ने क्रममा बसको यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडि भिर्ने झोलामा कागज र खैरो रङको प्लाष्टिक टेपले बेरिरहेको अवस्थामा लागूऔषध बरामद गरिएको एसपी ज्ञवालीले बताए ।

प्रहरीले फेनार्गन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी एकमुष्ट २७४६ एम्पुल लागूऔषध फेला परेको ज्ञवालीले जानकारी दिएका छन् ।

अनुसन्धानको लागि पक्राउ पर्नेमा पाल्पाको मदनपोखराका ४५ वर्षीय कृष्णप्रसाद पुरी र गुल्मीको मुसीकोट नगरपालिका वडा नं. ५ स्थायी घर भएका ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ स्थायी वतनका ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका वडा नं. ७ वतन भएका २५ वर्षीय शोसन चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बागलुङ प्रहरीले पक्राउ परेका चार जनालाई सोमबार जिल्ला अदालत बागलुङमा पेश गरेर पहिलो पटक २० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य भइरहेको एसपी ज्ञवालीले बताए ।

बागलुङ प्रहरीले यसअघि पनि गाँजासहितका लागूऔषध बरामद गरिसकेको छ । केही व्यक्तिलाई पक्राउ गरेर कारबाही पनि चलाएको छ ।

Published : Monday, 2022 July 4, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया