प्रतिभा सहकारीका अध्यक्षको बोर्ड सदस्य पद खुस्कियो, अख्तियार र सीआईबीमा उजुरी

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य माधव तिमिल्सिना नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा मुछिएका छन् ।

माओवादी केन्द्र निकटका तिमिल्सिनालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले बोर्डको सदस्यमा नियुक्त गरेकी थिइन् । तिमिल्सिना प्रतिभा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।

तिमिल्सिनाको शैक्षिक प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको स्रोतको भनाइ छ । त्यसपछि मन्त्री श्रेष्ठले तिमिल्सिनासँग राजीनामा माग गरेकी थिइन् ।

मन्त्रीले राजीनामा माग गरेपछि तिमिल्सिनाले बोर्डको सदस्य पदबाट राजीनामा दिएका हुन् । तिमिल्सिना बोर्डको सदस्यमा नियुक्त भएको करीव १ महिना भएको थियो ।

तिमिल्सिनाले बोर्डको सदस्य पदबाट राजीनामा दिएको स्वीकार गरेका छन् । शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोप लागेको विषयमा आफूले राजीनामा नदिएको उनले बताए । शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्ने आरोपलाई उनले अस्वीकार गरेका छन् ।

यसैबीच, अख्तियार र सीआईबीले सो विषयमा अनुसन्धान अगाडि बढाएको छ । तिमिल्सिनालाई पक्राउ गरेर छानविन अगाडि बढाउने तयारी गरेको स्रोतको भनाइ छ ।

Published : Thursday, 2022 May 5, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया